Comments Add Comment

ग्लोवल पव्लिक स्कुलमा तीन दर्जन लेखक, साहित्यकार !

काठमाण्डौ । मनाेहरा साहित्य समाजले १०१ औँ रचनावाचन श्रृङ्खला सम्पन्न गरेको छ। शनिबार ग्लोवल पव्लिक स्कुलमा रचनावाचन सम्पन्न भएको हो ।

संस्थाका सचिव भावकेशर बरालले सहजीकरण गर्नुभएको कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष डिल्लीराज अर्यालले गर्नुभएको उक्त कार्यक्रमका प्रमुख अतिथि पर्वतीय साहित्य समाजका अध्यक्ष तथा नियात्राकार वरिष्ठ साहित्य सर्जक प्रतीक ढकाल हुनुहुन्थ्यो । मञ्जुश्री साहित्य समाजका अध्यक्ष डा बमबहादुर थापा जिताली र नेपाली वाङ्मयसेवी लोकवार्ता परिषद् नेपालका राजेन्द्रकुमार आचार्य विशिष्ट अतिथि रहनुभएको रचनावाचनको १०१ औं शृङ्खलामा करिव तीन दर्जन स्रष्टा एवम दर्जन सभ्य श्रोतागणको सारपूर्ण उपस्थिति थियो।
संस्थाका अध्यक्ष डिलीराज अर्यालले उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई हार्दिक स्वागत गर्दै संक्षिप्त  र सारपूर्ण रचना वाचन गर्नुभएपश्चात प्रारम्भ भएको रचनावाचन श्रृङ्खलामा टेकबहादुर लोडारी, सरिता दुलाल घिमिरे, छविलाल अधिकारी, भावना न्यौपाने, पदम दाहाल, चेवन बस्नेत 'ठूलाघरे', ओम आचार्य, ध्रुव गजुरेल, विद्या अनामिका, कृष्णप्रसाद पौडेल, धरणीप्रसाद गुरागाई, बलराम विष्ट, बुद्धिसागर पौड्याल, मोहनकुमार श्रेष्ठ, रत्ननिधि रेग्मी 'शुक्राचार्य', कविराज घिमिरे, उत्तम शर्मा, भावकेशर बराल, राजेन्द्रकुमार आचार्य, बमबहादुर थापा जिताली, नन्दकुमार सुब्बा, खोलाघरे साहिँलो, जसध्वज गुरुङलगायतका स्रष्टाहरूले रचना वाचन गर्नु भयो।

श्रृङ्खलामा गीत, गजल, कविता तथा मुक्तक प्रस्तुत  भएका थिए । लयचेतनाका हिसाबले शास्त्रीय, लोकलय तथा मुक्तलय संरचनाका रचनाहरू वाचन भएका थिए । रचनामा विषयगत वैविध्य रहेको र समग्रमा प्राकृतिक सौन्दर्यको  सुकुमार अवस्था, वर्तमान समाजका विकृति र विसंगति, राजनीतिक क्षेत्रका अकर्मण्यता, वैदेशिक रोजगारबाट सिर्जित समस्या जस्ता विषयस्रोतबाट कविहरूले विम्ब ग्रहण गरी सिर्जना गरिएका रचनाले समग्रमा व्रतमानलाई प्रतिविम्बित गरेको थियो।

कार्यक्रममा केही व्यङ्ग्यमूलक रचना पनि वाचन भए। कार्यक्रममा यसै महिना जन्मजयन्ती परेका नेपाली साहित्यका मूर्धन्य स्रष्टा युगकवि सिद्धिचरण श्रेष्ठ तथा नेपाल भाषाका महाकवि चित्तधर हृदयप्रति श्रद्धासुमन अर्पण गरिएको थियो। 

स्रष्टाहरू पदम दाहाल, रत्ननिधि रेग्मी शुक्राचार्य, खाेलाघरे साहिँलो, टेकबहादुर लाेडारी तथा नन्दकुमार सुब्बाले आफ्ना नवप्रकाशित कृति मनोहरा साहित्य समाजलाई उपहारस्वरूप प्रदान गर्नुभएको सचिव बरालले बताउनु भयो। 
जेष्ठ नागरिक चौतारीका संयोजक छत्रभूषण दाहालले  शुभकामना मन्तव्यका क्रममा  मनोहरा साहित्य समाजले यस क्षेत्रको साहित्यिक उन्नयनमा पुर्‍याएको योगदानको स्मरण गर्दै कवितांशसमेत वाचन गर्नुभएको थियो। मन्तव्यकै क्रममा विशिष्ट अतिथि राजेन्द्रकुमार आचार्य तथा बमबहादुर थापा जितालीले साहित्यिक संस्थाको निरन्तरता कठिन कार्य भएपनि  मनोहरा साहित्य समाज आफ्नो १० वर्षे बयमा १०१ श्रृङ्खला सम्पन्न गर्न सक्नु आफैमा गौरवपूर्ण रहेको बताउनुभयो। साथै समाजले आफ्नो सयौं श्रृङ्खलामा मनोहरा स्मारिका समेत प्रकाशन गरेको सन्दर्भमा  यसको भविष्य समुज्जल रहेको बताउनु भभएको थियो।

प्रमुख अतिथिको मन्तव्यका क्रममा निवन्धकार प्रतीक ढकालले नेपालसँग कहिल्यै दोस्रो हुनुनपर्ने अमूल्य सम्पदा हिमाल रहेकाले सम्पदाको प्रवर्द्धन गरी समुन्नत नेपाल निर्माण गर्न सकिने विचार व्यक्त गर्नुभयो। यसै क्रममा उहाँले स्रष्टाहरुले हिमालको बाहिरी सौन्दर्यको नखशिख वर्णन गर्दै आवरणमूलक साहित्य सिर्जना गर्नुभन्दा हिमालको गरिमालाई आत्मसात गरी रचनात्मक साहित्य सिर्जनामा ध्यान केन्द्रित गर्नुपर्ने सुझाव समेत दिनुभयो। संसारका सबै जाति, सम्प्रदाय र धर्मले सहज रुपमा स्विकारेको हिमाल विश्वकै गौरव हो, यो स्वर्गतुल्य छ र यस स्वर्गीय भूमिका नागरिकका नाताले हिमालको संरक्षण र प्रवर्धनमा हामी सबैको भूमिका रहनुपर्नेतर्फ संकेत गर्दै मनोहरा साहित्य समाजको उन्नयनको कामना समेत गर्नुभयो।

मनोहरा साहित्य समाजका उपाध्यक्ष जसध्वज गुरुङले उपस्थित सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्दै सभापतिका आज्ञाले कार्यक्रम समापन गर्नु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ