काठमाण्डौं। सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा पटकपटक यो सरकार बिचौलियाले बनाएको भनेर अभिव्यक्त दिएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने, ‘विशेषगरी प्रमुख प्रतिपक्षी दलको तर्फबाट र दलको नेताबाट यो संसद्मा उहाँले गर्नुभएको सम्बोधन हामीले सुन्यौँ। असाध्यै पूर्वाग्रहप्रेरित ढंगबाट राजनीतिक प्रवचनको हिसाबले, नीति तथा कार्यक्रममाथि रनात्मक ढंगले भन्दा पनि सरकारको आलोनाको हिसाबले मात्रै विषय राख्नुभयो।’ यो सरकार बिचौलियाले नभइ संसद्ले संविधान अनुसार बनाएको बर्तौलाको भनाइ छ। ‘यो संसद्मा उहाँले फेरि पनि दोहोर्याउनु भयो, यो सरकार बनेको पहिलो दिनदेखि उहाँले भन्दै आउनुभयो–यो सरकार दलालले बनाएको हो, बिचौलियाहरुले बनाएको हो। लगायत लगायत,’ उनले भने, ‘उहाँले फेरि पनि नीति तथा कार्यक्रमको छलफलको क्रममा उहाँले यो दोहोर्याउनुभयो। म आग्रह गर्न चाहान्छु–यो सरकार यो संसद्ले बनाएको हो। संविधान बमोजिम यो संसद्ले बनाएको हो।’ बर्तौलाले पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिबाट सरकार बिचौलियाले बनाएको भनेर पटक–पटक सुन्न परेको भन्दै त्यसप्रति विरोध समेत जनाए। ‘तर, संसद्ले बनाएको सरकारलाई उहाँले हरेकपटक बिचौलीया, दलाल, माफिया। यस्तो खालको असाध्यै अराजनीतिक, असंसदीय शैलीको हामीले पटक–पटक सुनिरहेका छौँ,’ उनले भने, ‘सुन्न परिरहेको छ। म यसमा दुःख व्यक्त गर्न चाहान्छु।’
