काठमाण्डौं। नेपाल क्रिकेट संघ (क्यान)ले स्कटल्यान्डमा हुने आईसीसी एक दिवसीय लिग २ र टी २०आई सिरिजका लागि आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत स्कटल्याण्ड भ्रमणका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको १५ सदस्यीय टोली घोषणा भएको छ ।
नवनियुक्त प्रशिक्षक स्टुआर्ट लले रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेका हुन् । टिममा दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेका छन् । विकेटकिपरद्वय आसिफ शेख र अनिल कुमार शाह टोलीमा छन् । कुशल भुर्तेल, भीम सार्की र आरिफ शेख मात्र ब्याटर रहेका छन् ।
अलराउन्डर गुलशन झा र बसीर अहमदले पनि टोलीमा स्थान बनाएका छन्। बलरहरु सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल र ललित नारायण राजवंशी टोलीमा अटाएका छन्। अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ।
२०७८ सालको मंसिरमा क्यानले आचारसंहिता उल्लंघन गरेको भन्दै दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारीबाट हटाएको थियो । सोही समयमा क्यानले ज्ञानेन्द्र मल्ललाई पनि कप्तानको जिम्मेवारीबाट हटाएको थियो ।
