काठमाण्डौं। प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्भित्र खबरदारी गर्न निर्देशन दिएका छन्। उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई राम्ररी अध्धयन गर्न अनुरोध गरेका छन्।
यसपटकको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दलकै असन्तुष्टि छ। नेपाली कांग्रेसले समेत कार्यक्रमप्रति असन्तुष्टि व्यक्य गरेको छ। यसैले ओलीले आफ्ना सांसदलाई विभिन्न कुरामा ध्यान दिन अनुरोध गरेका छन्। उनले शनिवार बालुवाटारमा बसेको पार्टीको संसदीय दलको बैठकमा पार्टीको मर्यादा र अनुशासन कायम राख्दै प्रभावकारी प्रस्तुति बनाउन निर्देशन दिए।
ओलीले भने, ‘साथीहरूले प्वाइन्ट लेखेर ल्याउनुहोला‚ बोल्ने वेला, लेखेका प्वाइन्ट बोल्नुहोला‚ कुरा नछुटोस्, नबिर्सियोस्। लेखेर ल्याएका बुँदा प्रष्टताका साथ व्याख्या गर्न सक्ने गरी आउनुपर्यो। हरेक सांसदले गलत कुरामा उठेको खण्डनमा पनि बोल्नैपर्ने हुन्छ। त्यस ढंगले आफूलाई प्रस्तुत गरेर आउन म साथीहरूलाई आग्रह गर्न चाहन्छु।’
सरकारले शुक्रवार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमार्फत सार्वजनिक गरेको छ। नीति तथा कार्यक्रममा सांसदहरूलाई संशोधन गर्न ७२ घण्टाको समय पनि उपलब्ध भइसकेको छ।
