काठमाण्डौं। जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहले संघीयता आएपछि करोडौंको योजनाहरु प्रदेशबाट निर्माण भइरहेकाले संघीयताबारे जनतालाई बुझाउन आवश्यक रहेको बताएका छन्।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा विद्यार्थी जनमत संघ धनुषाद्धारा आयोजित भेला तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेता साहले संघीयता र लोकतन्त्रका विषयमा पनि मधेशी विद्यार्थीहरुलाई थाहा हुनु पर्ने बताए।
‘संघीयतालाई बदनाम गराउने षड्यन्त्रमा हाम्रा युवा पुस्ता पनि फसेका छन्। ५ लाख बजेट पाउन पनि हाम्रा बुवाबाजेले काठमाडौंमा नेता मन्त्रीको शरणमा पुग्नु पर्ने अवस्था थियो। आफ्नो गाउँ समाजमा बाटोघाटो वा अन्य विकास निर्माण गर्न मधेशबाट बासमती चामल र माछा बोकेर काठमाडौंका शासकहरुको चाकडी गर्नु पर्ने अवस्था थियो।’ नेता साहले भने,‘संघीयता आएपछि पाँच लाख मात्रै होइन करोडौंको योजनाहरु प्रदेशबाट निर्माण भइरहेको छ। बल्ल जनताले सरकारको अनुभुती गर्न पाएका छन् । त्यसकारण संघीयतालाई थप बलियो बनाउँदै लग्नुपर्छ।’ विभिन्न सामाजिक सञ्जालमा कतिपय मधेशी युवाहरु पनि राजावादी आन्दोलनलाई समर्थन गरेको भन्दै उनले आक्रोस व्यक्त गरे।
‘हो, हामी नेताहरु चोर नै भयौं रे । तर, यही लोकतान्त्रिक व्यवस्थाले हामीलाई चोर नेता परिवर्तन गर्ने मौका दिन्छ । पाँच वर्षमा नेता परिवर्तन गर्न सक्छौं । तपाई युवाहरु राजनीतिमा आउनुस्। हामी चोर नेताहरुलाई लखेट्नुस् । तर राजतन्त्रमा स्थायी चोर ल्याउने भ्रम नपाल्नुस्।’ नेता साहले भने,‘राजतन्त्रमा के कस्तो अवस्था थियो त्यसबारे आफुभन्दा अग्रजहरुसँग सोध्नुस् । बोलेको भरमा थुनिन्थ्यो। अपहरण, बलात्कार, चोरी जस्ता कुकृत्यको लाइसेन्स दरबारसँग हुन्थ्यो । के हामी फेरी त्यही फर्किन खोजेको हो?’ अहिले जनमत पार्टी र मधेश प्रदेश सरकारको आलोचना भइरहेको भन्दै पार्टी र सरकारको सकारात्मक कुराको प्रचारप्रसार गर्न विद्यार्थीहरु नेताहरुलाई साहले निर्देशन दिए ।
विद्यार्थी नेताहरुले नै अबको आन्दोलन हाँक्ने बताउँदै नेतृत्व लिनका लागि तयारी गर्नसमेत विद्यार्थीहरुलाई उनले आग्रह गरे।
