सधंै हाँसेर बाँच्नुपर्छ । चिन्ताले दुःख दिन्छ । चिन्तनले सुख दिन्छ । चिताले मरेको शरीरलाई जलाउँछ, चिन्ताले जिउँदो शरीरलाई जलाउँछ । ध्यान गर्नु भनेको चिन्तन गर्नु हो । ज्ञानी मानिसले चिन्तन गर्दछन्, चिन्ता गर्दैनन् । सांसारिक मानिसले धनको ध्यान गर्छन् । उनीहरूले भन्ने गर्छन् ‘हातखुट्टा हुँदासम्म धन जम्मा गर्नुपर्छ, बुढो भएपछि ध्यान र धर्म गर्नुपर्छ ।’
जीवनको सार पुरुषार्थ हो । पुरुषार्थ भनेको धर्म, अर्थ, काम मोक्ष सबै हो तर आजकल मानिसले धर्म र मोक्षलाई छोडेका छन् र अर्थ र कामलाई अँगालेका छन् । यी सबै कुरा पूरा भएमा मानिसको जीवन सार्थक हुन्छ नत्र जीवन दुःखमय हुन्छ भन्ने कुरा सोचेका छैनन् । त्यसैले चिन्ता बढेको छ, संघर्ष गर्नु नै जीवन हो । संघर्ष नगर्ने मानिसले चिन्ता गर्छ । पुरुषार्थ नगर्ने मानिस संघर्षबाट भाग्न खोज्छन् । मानिस चिन्ताले ग्रस्त छन् । मानिस दुःखी छन् पीडित छन् । मानिस यस्तो प्राणी हो जो अहिलेको लागि नसोचेर पछिको लागि सोच्ने गर्छन् । छोरा नातिले के खालान् भनेर धन पैसा जम्मा गरिरहन्छन्, आफूले न भोग गर्छन् न अरुलाई दिन्छन् । धन पैसा बैंकमा जम्मा गरेर आफूलाई मात्र नभएर सन्तान र दरसन्तानका लागि जम्मा गर्छन् । वास्तवमा चिन्ता गर्ने मानिसले हर समय संघर्षमा बाँच्न चाहँदैनन् ।
जीवनको सार नै संघर्ष हो, चिन्तन हो । जीवन एक पाठशाला हो, चिन्तन एक कार्यशाला हो र संघर्षको महत्व बुझ्ने मानिस नै तत्वदर्शी हो । जति मानिस संसारी हुन्छ, जति संसारलाई प्यारो मान्छ, त्यति मानिस असुरक्षित हुन्छन् । धन नभएका मानिस सुरक्षित छन् । धन भएका मानिसलाई चिन्ता छ । जीवन संघर्षसँग डराउने मानिसलाई सुरक्षाको आवश्यकता पर्छ । मेरो धन कसैले खोस्ला, कसैले चोर्ला भनी हर समय चिन्ता गरिरहन्छन् । चिता र चिन्ता एकै हुन् । संसारमा कसैलाई धन भएर चिन्ता छ, कसैलाई धन नभएर चिन्ता छ । कसैलाई पुत्र नभएर चिन्ता छ, कसैलाई पुत्र भएर चिन्ता छ । पुत्र भएर सुख हुँदैन । पुत्र भनेको सेवक हुनुपर्छ । पुत्र चार किसिमका हुन्छन् । एक, शत्रु पुत्र पूर्व जन्मको शत्रु पुत्र भएर आएको हुन्छ । दोस्रो, ऋणी पुत्र त्यो पूर्वजन्मको ऋण असुल गर्न आएको हुन्छ । तेस्रो, उदासिन पुत्र त्यो विवाह नहुँदासम्म आमा बुवासँग बस्छ विवाह भइसकेपछि छुट्टिएर बस्छ । बुवाआमाको आशा हुन्छ विवाहपछि उसको चार हात हुन्छ र सेवा गर्ला, तर उसले बिर्सन्छ कि चार हात हुँदासम्म चार गोडा पनि भइहाल्छन् । विवाह गरेपछि अधिकांश मानिस पशु जस्तो भइहाल्छन् । माता पितालाई छाडिहाल्छन् । चौथो पुत्र, सेवक पुत्र हो । ऊ आफ्नो बुवाआमाको सेवा गर्न जन्मिएको हुन्छ ।
ज्ञानी मानिसले सेवा गर्छन् भने आशा गर्नुहुन्न । घर र धन सम्पत्ति ऐश्वर्य आदि विषय राज्य सेवक मित्र नातेदार आदि शोक मोह भए दुःख दिनेवाला हुन् । यिनी सबै नाशवान हुन् । जस्तो नदीको प्रवाहमा बालुवाका कणहरू कहिले जम्मा हुन्छन् कहिले छुटिन्छन् त्यस्तै संसारमा सबै जम्मा हुन्छन् र छुटिन्छन् । चिन्ता गर्नु छ भने आफ्नो चिन्ता गर्नुपर्छ । आफू भनेको को हो आत्मा हो । आत्मा भनेको म हो । शरीर होइन । मलाई सर्वव्यापक बनाउनुपर्छ । सबैलाई म सम्झाउनुपर्छ ।
‘आत्मन पर्टिकुलानि परेशाम न समाचरेत’ कसैलाई पनि आफूभन्दा फरक नसम्झिनु नै चिन्तालाई हटाउने उपाय हो । शब्द स्पर्श रूप रस गन्धमा रमाउने मानिसलाई चिन्ता हुन्छ । माता पिताको सेवा गरे ईश्वरको सेवा गरे सरह लौकिक सुख प्राप्त हुन्छ । मातापिताको सेवा गरेर ईश्वरको सेवा गरेर सरह लौकिक प्राप्त भएन भनेर निराश हुनु हुँदैन । लौकिक सुख प्राप्त नभए अलौकिक सुख प्राप्त हुन थालेको छ भनी सम्झनुपर्छ ।
सेवा कहिले खेर जाँदैन । चाहे ईश्वरको होस्, चाहे राष्ट्रको होस्, चाहे समाजको होस्, चाहे मातापिताको होस्, लौकिक सुखले चिन्ता हुन्छ ईश्वरदेखि टाढा गराउँछ । ईश्वरले जसलाई माया गर्नुहुन्छ त्यसलाई धन दिनुहुन्न माया दिनुहुन्छ, कृपा गर्नुहुन्छ, आशीर्वाद दिनुहुन्छ आफ्नो गराउनुहुन्छ । आजकलको शिक्षा विषय वासना बढाउने खालको छ । चिन्ता बढाउने खालको छ । त्यसैले मानिसको जीवन बिग्रिदै गएको छ । हामीले चिन्तन गर्न छाडेका छौं । चिन्ता मात्रै गर्छौं । प्रेम सबैका साथ गर्नुपर्छ हामीले तेरो मेरो भनी भेदभाव गर्छौं । समव्यवहार गर्न सम्भव छैन समभाव गर्नुपर्छ । ईश्वरले समभाव राख्छ । एउटा चोर थियो त्यो चोर्नका लागि हिडेको थियो । बाटामा हिड्दा उ लड्यो । उसले चोर्न जान सकेन र पापबाट बच्यो यो ईश्वरको कृपा हो । मानिसले ईश्वरलाई जुन भावले हेर्छ त्यस्तै देख्छ । ईश्वर उस्तै बनिदिनुहुन्छ । भावमा एकै देख्नुपर्छ व्यवहारमा भिन्न देख्नुपर्छ । चिन्तन गरे हामी ईश्वरलाई भित्र देख्न सक्छौं । घैंटाभित्र पानी छ त्यो झिक्न सकिन्छ तर घैंटाभित्रको आकाश झिक्न सकिदैन । ईश्वर आकाश जस्तो सर्वव्यापक छ । चिन्ता गरे मन चञ्चल हुन्छ, र शरीरलाई जलाउँछ । चिताले मरेको शरीरलाई जलाउँछ । त्यसैले चिन्ता र चिता एकै हुन् । जीवनमा चिन्ता कहिले गर्नु हुँदैन । जीवनमा हरेक मानिसले संघर्ष गरेर बाँच्न सिक्नुपर्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ, संघर्ष वर्षबाट बिजुली बल्छ विक्रमद्वारा द्वीप । हामीले पनि पुरुषार्थद्वारा जीवन सार्थक बनाउन संघर्ष गरिरहनुपर्छ, हाँसेर बाँच्नुपर्छ ।
