धोबीखोलाको किनार साँच्चै जादुमय बनेको छ अचेल। सडकछेउछेउमा न्याकाण्डा फुलेका छन्, निलो र बैजनी रङले । बिहान हिँड्दै गर्दा म यिनलाई हेरेर हरेक दिन मख्ख पर्छु । कलेज पढ्दाको बेला कुन्ती दिदीसँग सँगै घरबाट कलेज जान्थे। उनी पढाउन जान्थिन् । म पढ्न जान्थे । उनी आफै गाडि हाक्थिन् । पचास वर्ष भैसक्दा पनि उनी भित्रको चलायमान् उर्जा देखर म छक्क पर्थे । उ त्यतिबेला पनि उनी भन्थिन्, “फुच्ची, तिमी फूल हेर्दा संसारै भुल्छ्यौ।” म टाउको हल्लाउँथे र अलिकति मुस्कुराउँथे उनका लागि । अब सम्झँदा लाग्छ, हो दिदी, म साँच्चै संसार भुल्छु यी फुलको उज्यालोमा। अहिले म जागिर खाने मान्छे भएँ ।
काठमाण्डौको भीड, धुलो, कोलाहलबीच गुज्रिन्छु। तर यो धोबी खोलाको किनार । यसले मलाई फेरि बच्चै बनाइदिन्छ। म बसेको घरबाट अफिस पुग्न त्यो बाटो छिचोल्नै पर्छ। दिनको भागदौड सुरु हुनु अघि म एकछिन रोकिन्छु । अंजुलीभरी ज्याकाण्डाको फुल बटुल्छु । अनि भित्र कताकता केही उज्यालो हुन्छ।
केही दिनअघि दिदीले फोन गरेर भनिन्, “ओइ फुच्ची, अझै तिमी फूलकै वरिपरि भौतारिइरहेकी छ्यौ ?”मैले मुस्काउँदै भनें, “अँ दिदी, यी देखेपछि त म संसार भुल्छु नि। ती फूलहरूसँगै तपाईलाई सम्झिन्छु ।” जीवनको दौडमा हामी कतिसम्म बिर्सन्छौं आफ्नै मनको कुरा । आफ्नै रुचि, आफ्नो सानोपन। तर यी फुलले मलाई त्यही सम्झाइरहेका छन् । सायद म आज पनि उही छु, जसले सानो हुँदा हरेक बाटोको छेउमा फुलेको फूलमा आफ्नो संसार देख्थ्यो। त्यो दिन साँच्चै अचम्मको थियो। आकाश नीलो थियो—कुनै चित्रकारले मिहिनेतले रंग भरिएको जस्तो। म एक्लै हिँडिरहेकी थिएँ । मन पनि त्यतिकै रित्तो, सोचहरूको हुलमुलमा हराइरहेकी।
जीवनमा कहिलेकाहीँ यस्तो अवस्था आउँछ । जहाँ न समयको खबर हुन्छ, न आफू कुन दिशामा हिँडिरहेछु भन्ने होस। त्यो दिन पनि त्यस्तै थियो। एक्कासि मेरो अगाडि सेतो गाडी रोकियो। म झस्किएँ। टाउको उठाएर हेरेँ—गाडीको सिसाभित्रबाट कुनै चिरपरिचित अनुहार हाँसिरहेको थियो। उनी थिईन कुन्ती दिदी । उनले झ्यालबाट हल्का झुकेर मलाई हेर्दै भनिन्, “कता हेरेर टोलाउँदै हो फुच्ची आउ न, गाडीमा बस जाऊ हाम्रै तिर।” मैले हल्का लजाउँदै नमस्कार गरेँ। त्यत्तिकैमा गाडीभित्र बसेको केटाले पनि हात हल्लाउँदै ‘हाई’ भन्यो। म केही अप्ठ्यारो महसुस गर्दै झुक्किएर फेरि नमस्कार गरेँ। “ऊ मेरो छोरा रोज,” कुन्ती दिदीले चिनाउँदै भनिन्, “हिजो मात्र अमेरिकाबाट आएको हो।” मैले चुपचाप नजर दौडाएँ। रोज भद्र लाग्यो—शान्त स्वभावको, सोचमा डुबेको अनुहार। उसलाई “छोरा” भन्न मनले मानेन। उमेर त करिब करिब उस्तै। मैले उसको अनुहार हेरेँ, उसले नजर झुकायो। “भाइ हो त,” मैले मुस्कुराउँदै भनेँ। कुन्ति दिदीले हो भाई नै भने हुन्छ भनिन् र मिठो तरिकाले हाँसिन् । उनीहरूले मलाई कर गरेर गाडिमा बसाए।
कहाँ लैजाने, के गर्ने—केही थाहा थिएन। तर, मनमा कुनै हिचकिचाहट पनि थिएन। कुन्ती दिदी मेरी पुरानी साथी हुन्। उनी मभन्दा पच्चीस वर्ष जेठी, तर हामीबीच कहिल्यै उमेरको दूरी महसुस भएन। हामी भावना बाँड्थ्यौं, कहिलेकाहीँ आँखाबाट पोखिनेसम्मका कुरा पनि। गाडिमा दिदीले फेरि भनिन्, “ऊ यतै बस्ने सोचमा छ। नेपालमै केही गर्न चाहन्छ रे।”मैले टाउको हल्लाएँ। भित्र कताकता हल्कापन महसुस भयो। अनि केही गहिरो सोच पनि। म त्यो घरमा पहिल्यै धेरै पटक गइसकेकी थिएँ। चोकबाट मोडिने बित्तिकै देखिने पहेँलो रंगको पुरानो घर, अनि सानो तर सफा आँगन। ढोकामा ठोकिएको घण्टीको आवाजसम्म मलाई चिरपरिचित लाग्थ्यो। तर आजको दिन केही फरक थियो—आज त्यो घरमा रोज पनि थियो। कुन्ती दिदीका श्रीमान यान मलाई सधैं बहिनीझैं माया गर्थे। उनमा एक किसिमको आत्मीयता थियो । जसले मलाई सजिलै अपनत्वको अनुभव गराउँथ्यो। त्यो घर समयसँगै मेरो लागि पराइ कहाँ रह्यो र ?
त्यो दिन म कुनै योजना बिना पुगेकी थिएँ। एकदम स्वाभाविक रुपमा । त्यहि दिन कुन्ती दिदीका श्रीमान् यानले मलाई एउटा प्रस्ताव राखे । “म एक किताब लेख्दै छु,” उनले भने, “पाण्डुलिपी तयार भइसक्यो। अब त्यसको टाइपिङ र सम्पादनको काम बाँकी छ। त्यो जिम्मा तिमी सम्हाल्छौ कि ?” म केही बोल्न नभ्याउँदै उनले फेरि भने, “म चाँडै अमेरिका जान लागिरहेको छु। त्यसैले कुन्ती र रोजले सुरु गरेको सानो बिजनेस छ, त्यसमा पनि तिमीले सघाइदिनुपर्छ।” मैले शान्त स्वरमा टाउको हल्लाउँदै भनेँ, “हुन्छ।”
त्यो दिन साझँको निलो आकाश तल, कौसीमा शीतल हावा चलिरहेको थियो। म एक्लै उभिएको थिएँ । जब रोज बिस्तारै मेरो नजिक आयो। हल्का मुस्कानसहित भन्यो,“तिम्रो बारेमा मम्मीले सबै कुरा भन्नु भएको छ । तिमीले भोगेको जीवन, संघर्ष, अनि त्यो पीडा‘” उसको आँखामा सच्चा सहानुभूति देखिन्थ्यो। उसले मेरा विगतका पानाहरू सुनिसकेको रहेछ । विवाह गरेको, गर्भवती हुँदा श्रीमान्को मृत्यु भएको, अनि सुत्केरी अवस्थामा नानी गुमाउनु परेको। मैले केही भन्न सकिन, केवल यति मात्र भनें, “धन्यवाद रोज, सहानुभूतिको लागि‘” मेरो कथा कति दुःखदायी थियो भने साँचो भन्नु पर्दा त्यो पीडाको सबभन्दा नजिककी साथी थिइन्—कुन्ती दिदी।
म त गरिब परिवारमा जन्मिएकी थिएँ—एक असाध्यैनाजुक, कमजोर केटी। बुबाआमाको मृत्यु, न दाजुभाइ, न दिदीबैनीसँग सम्पर्क। म साँच्चै बेसहारा थिएँ। तर जीवनले मलाई कुन्ती दिदीको रुपमा एउटा देवता पठाएको थियो। म ज्यामी काम गर्दै कलेज पढ्थेँ । उनी त्यहाँ पढाउँथी । मेरो दुःखका कथा सुनेपछि उनले मलाई केही समय आफ्नै घरमा आश्रय दिईन् ।
अब म उनीसँगै बस्न थालेकी थिएँ। उनको घरमा भाडा माझ्ने, झारु लगाउने काम गर्थें। तर, उनले कहिल्यै मलाई कामदारको दृष्टिले हेरेनन्। सधैं आफन्तझैँ व्यवहार गरिन्। छ महिनापछि, उनीकै जोडले म एक जना अर्धवैसे पुरुषसँग विवाह गरेँ। लाग्यो, अब जीवनमा केही सान्ति आउला। तर भाग्यले फेरी चाल खेल्यो—गर्भवती हुँदा श्रीमान्को हृदयघातले मृत्यु भयो। बच्चा जन्मेको पाँचौं दिनमै मेरी छोरी पनि गइ। सबै गुमाएको महसुस भयो—श्रीमान्, सन्तान, सपना । त्यसपछि म फेरि कुन्ती दिदीकै सरणमा फर्किएँ। आँखा रसाएका थिए, हृदय चुँडिएको थियो, तर उनी अझै अडिग थिइन्। उनले मलाई सहकारी संस्थामा जागिर लगाइदिइन्। अहिले पनि म त्यहीँ काम गर्छु—त्यसै जागिरको साहारामा जीवन काटिरहेकी थिएँ। समयले धेरै कुरा सिकोयो, तर कुन्ती दिदीले मलाई ‘माया’ भन्ने शब्दको अर्थ सिकाइन्। उनी नहुने हो भने, म कता हुन्थें कुन्नि ? क्रमश...
