भक्तबहादुर श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनमा विर्सनै नमिल्ने नाम हो । १९९० मा उहाँको जन्म मकवानपुर जिल्लामा भएको थियो । र २०६८ पौष २७ गते उहाँको मृत्यु भएको थियो । श्रेष्ठ सिद्धान्तनिष्ठ नेता हुनुहुन्थ्यो । हरेक वर्ष हामीले पौष २७ गते भक्तबहादुर श्रेष्ठ स्मृति दिवस मनाउँदै आएका छौं ।
मैले युवाकालमै उहाँको नाम सुनेको थिएँ । उहाँको घर मकवानपुर र मेरो सिन्धुली हो । मकवानपुर र सिन्धुली छिमेकी जिल्ला हुन् । मकवानपुरको ११÷१२ सालको किसान आन्दोलनबाट उठेको किसान नेता हुनुहुन्छ भन्ने सुनेको थिएँ । तर मैले उहाँलाई पहिलो पटक पार्टीको चौथो महाधिवेशनमा बनारसमा भेटेको थिएँ । म सिन्धुलीबाट र उहाँ मकवानपुरबाट बनारस पुगेका थियौं ।
चौथो महाधिवेशन सम्पन्न गर्न र चौथो महाधिवेशनधारको पार्टी निर्माण गर्नमा उहाँको महत्वपूर्ण देन छ । चौथो महाधिवेशनमा छलफल गरिएका र पारित गरिएका दस्तावेजहरु भद्रगोल जेलमा रहेका नेताहरुले छलफल गरेर तयार पारिएका थिए । मोहन विक्रम सिंह, निर्मल लामा सहित भक्तबहादुर श्रेष्ठले पनि दस्तावेजहरुमाथि छलफल गर्नु भएको थियो । पार्टीको लाइन निर्माण गर्नमा चौथोे महाधिवेशनकाल देखि नै उहाँले योगदान पु¥याउनु भएको थियो । पंचायती व्यवस्थाका नीतिलाई स्वीकार गरेमा राजबन्दीहरुलाई रिहाई गर्ने काम गरेको थियो । मनमोहन अधिकारीले पंचायतको विदेश नीति सही छ भने पछि रिहा गरिएको थियो ।
त्यस्तै पार्टी कामले उहाँले पनि साथीहरुसित सल्लाह नै गरेर जेल बाहिर निस्कनु भएको थियो । पछि पार्टीमा पंचायतसित आत्मसमर्पण गरेर रिहा भएको भन्ने छलफल पनि भयो । मोहनजीले पंचायततन्त्र शर्त स्वीकारेर जेलबाट ननिस्कने भन्नुभएको थियो । सबै जेलमा रहँदा जनतामा पार्टी काम नहुने भएकाले सल्लाह गरेरै उहाँ जेलबाट रिहा हुनुभएको थियो । स्वयं मोहनविक्रमजीको सल्लाहबाट नै पार्टी कामले उहाँ बाहिर निस्कनु भएको भनेपछि उहाँमाथि लगाइएको आरोप स्वतः हराएर गयो । २०३१ सालको चौथो महाधिवेशनबाट उहाँ वैकल्पिक पोलिट्व्यूरो सदस्य बन्नुभयो ।
२०३४ सालमा मोहनजी कार्वाहीमा परेपछि निर्मल लामाजी पार्टीको महामन्त्री हुनुभयो । २०३६ सालमा निर्मल लामाजी पनि महामन्त्रीबाट हटनु भयो । मोहनविक्रम र निर्मल लामाजीको राष्ट्रिय नेताको परिचय बनिसकेको थियो । तर भक्तबहादुर श्रेष्ठको त्यो स्तरको परिचय बनिसकेको थिएन । तैपनि दुवै मुख्य नेताहरु मोहनजी र लामाजी नेतृत्वबाट हटेको अवस्थामा र अप्ठ्यारो परिस्थितिमा २०३६ सालदेखि २०३९ सालसम्म उहाँले पार्टीको नेतृत्व सम्हाल्नु भएको थियो । उहाँ महामन्त्री भएकै बेलामा म पार्टीको केन्द्रीय कमिटीमा आएको थिएँ । पार्टीमा गुटबन्दी र अराजकता बढ्दै गएको बेलामा उहाँले पार्टीको नेतृत्व सम्हाल्नु भयो । उहाँले गरेको कम्युनिस्ट आन्दोलनको यो योगदान अविस्मरणीय छ ।
उहाँ महामन्त्री भएकै बेला उहाँ मकवानपुर घर आएको बेला प्रहरीको गिरफ्तारीमा पर्नु भयो । उहाँको छिमेकीले उहाँलाई सुराकी गरेकाले गिरफ्तार हुनुभयो भन्ने हामीले सुनेका थियौं । प्रहरी हिरासतमा गएपछि प्रहरीले उहाँलाई नेकपा (चौम÷मशाल) को महामन्त्री शेरसिंह तिमी हौ ?भनेर सोधेछ । उहाँले म हैन भन्नुभएछ । पछि उहाँ रिहा भएपछि किन पार्टीको पद खोलेर बयान नदिएको भनेर साथीहरुले उहाँलाई आलोचना गर्नुभयो । शेरसिंह त्यतिबेला उहाँको पार्टी नाम थियो । शेरसिंह भनेपछि डर लाग्दो खतराको रुपमा प्रशासनले हेथ्र्यो । महामन्त्री हुँ भन्ने पछि प्रशासनले पार्टीका सबै गोप्य कुरा खोल्न दबाब दिन्छ भनेर उहाँले त्यसरी आफू पार्टीको मान्छे हैन भनेको हुनुपर्दछ भन्ने मलाई लाग्दछ ।
उहाँ महामन्त्री भएकै बेला भारतबाट नेपालतिर आउँदै गर्दा वस दुर्घटनामा पर्नुभयो । त्यो दुर्घटनाले गर्दा उहाँको ढाडको समस्या भयो । स्वास्थ्यमा सुधार त भयो तर स्थायी सुधार हुन सकेन । पाँचौं महाधिवेशन (२०४१) बाट उहाँ पनि केन्द्रीय कमिटीमा निर्वाचित हुनुभयो ।
२०५१ मा जनयुद्ध सुरु भएपछि उहाँले वैचारिक रुपले मद्दत गर्ने र खुला मोर्चामा बसेर सहयोग गर्ने भन्नुभयो । ढाडको विमार, उमेर पनि माथि पुगेको, भूमिगत रुपमा काम गर्न गाह्रो भएकाले पार्टीमा सल्लाह नै गरेर उहाँ संयुक्त राष्ट्रिय जनआन्दोलन नामक खुला मोर्चाको संयोजक भएर उहाँले जनयुद्धकालमा पार्टीलाई मद्दत गर्नु भयो । त्यसबेला उहाँलाई धेरै पटक प्रहरीले गिरफ्तार ग¥यो । मानसिक यातना दियो । तर उहाँले कहिलै पनि प्रतिक्रियावादी सत्ताका अगाडि आत्ममर्पण गर्नुभएन । खुला मोर्चामा बसे पनि उहाँले पार्टीको लाइन निर्माण गर्नमा महत्वपूर्ण योगदान पु¥याउनु भएको थियो ।
उहाँले औपचारिक शिक्षा धेरै अध्ययन गर्नुभएको थिएन । एसएलसीसम्म पढ्नु भएको थियो । तर माक्र्सवादको उहाँले गहिरो अध्ययन गर्नु भएको थियो । दर्शन, राजनीतिक अर्थशास्त्र, राजनीतिको उहाँले स्वअध्ययन गरेर आफूलाई वैचारिक र बौद्धिक नेताको हैसियत कायम गर्नु भएको थियो । उहाँले पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण गर्नका लागि तगातार लेख रचनाहरु तयार गरिरहनु हुन्थ्यो ।
पुँजीको अध्ययन गरेर उहाँले राजनीतिक अर्थशास्त्र सम्बन्धी जुन रचना तयार गर्नुभएको छ । त्यो रचनाले पुँजीवादलाई बुझ्न र समाजवादको बाटोमा अगाडि बढ्न हामीलाई प्रेरित गर्दछ । उहाँका दर्शनसम्बन्धी रचनाहरुले हाम्रो दृष्टिकोण निर्माण गर्न मद्दत गर्दछन् । उहाँका रचनाहरुलाई “भक्तबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठान” ले संकलनगरी प्रकाशनमा ल्याएको छ । ती रचनाहरु हामीले अहिले पनि दोहो¥याइ तेहे¥याई पढ्न र हाम्रो जीवनमा लागु गर्न आवश्यक छ ।
भक्तबहादुर श्रेष्ठ निकै मिलनसार व्यक्ति हुनुहुन्थ्यो । उहाँ तल्लो पुस्ताका युवाहरुसित तुरुन्तै घुलमिल गर्न सक्ने क्षमता भएका नेता हुनुहुन्थ्यो । चौथो महाधिवेशनकालमा म युवा थिएँ । म जस्ता युवाहरुलाई उहाँको बानी व्यवहारले लगातार क्रान्तिकारी आन्दोलनमा लाग्न प्रेरित गर्दथ्यो । उहाँ खाना पकाउनमा पनि निकै सिपालु हुनुहुन्थ्यो । पार्टी हेडक्वाटर बनारसमा हुँदाखेरी हामी युवाहरुले बजार गएर सामान लिएर आउँथ्यो । पकाउने काममा भक्तबहादुरजी आफै लाग्नु हुन्थ्यो । लामाजी पनि खाना पकाउन सिपालु हुनुहुन्थ्यो । लामाजी र भक्तबहादुरजी खाना पकाउनमा खुवै जोडी मिल्थ्यो ।
जति पटक पार्टी फुटे पनि अन्तिम समयसम्म म र उहाँ एउटै पार्टीमा रह्यौं । भक्तबहादुर श्रेष्ठबाट सिक्नुपर्ने थुप्रै कुराहरु छन् । पार्टीमा देखिएका अवसरवादका विरुद्ध उहाँले दृढतापूर्वक संघर्ष गर्नुभएको थियो । अवसरवादका विरुद्ध संघर्ष गर्न तयार हुनुपर्दछ भन्ने उहाँको जीवनबाट सिक्न सकिन्छ । अर्को महत्वपूर्ण कुरा भनेको जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि क्रियाशील हुनु, पार्टी काममा लागिरहनु हो । अध्ययन गरिरहनु हो ।
अर्को कुरा भनेको उहाँ सधै देश र जनताको पक्षमा उभिनुभयो । संघर्ष गर्नुभयो । यदि हामीले भक्तबहादुर श्रेष्ठले बोकेको क्रान्तिकारी चरित्रलाई अपनाउन सक्यौं भने उहाँप्रतिको स्मृति दिवस मनाएको सार्थकता रहनेछ ।
