काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान र संघीयताविरोधीहरुको प्रयास सफल नहुने दाबी गरेका छन्। शहिद लखन गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै दाहालले यस्तो दाबी गरेका हुन् ।
सबै क्षेत्रको पहिचानसहितको संविधान बनेको बताउँदै अध्यक्ष दाहालले भने, यसको रक्षाको लागि हामी एकताबद्ध भएर अगाडि बढ्नुपर्छ , तर जनताको समस्या समाधान गर्ने कुरामा सुशासन, सामाजिक न्याय र आर्थिक विकास दिने कुरा महत्त्वपूर्ण छ। हामी त्यतातर्फ केन्द्रित हुनुपर्छ। यो संविधान र व्यवस्था विरोधीहरू सफल हुने त कुनै सम्भावना छैन। तर हामीले जनतालाई सकारात्मक परिणाम दियौँ भने त्यो आफैँ बिलाएर जान्छ। तर राजावादीहरुको क्रियाकलापबाट सतर्क हुनुपर्ने आवश्यकता छ।
उनले नेपालमा केही छैन र केही हुँदैन भन्ने नकारात्मक भाष्य बन्दै गइरहेकोप्रति चिन्ता व्यक्त गरे। उनले बूढीगण्डकी आयोजना निर्माणका लागि राजनीतिक समझदारी आवश्यक रहेको भन्दै आफूले निरन्तर पहल गरिरहेको बताए। उनले आफू प्रधानमन्त्री भएको बेलामाजस्तै बूढीगण्डकी आयोजनाको मोडालिटीको बारेमा अरू कसैको पालामा पनि छलफल नभएको बताए।
युवाहरू विदेशिने र समाजमा निराशा बढ्दै गएको सन्दर्भमा उनले त्यसलाई चिर्न स्वदेशभित्रै रहेका स्रोत, साधन र सम्भावनाको अधिकतम उपयोग गरी देशमै केही गर्न सकिन्छ भन्ने भावना जगाउन आवश्यक रहेको बताए।
उनले भने, ‘नेपाल संसारमै सम्भावनायुक्त देश हो। युवाहरूले निराश हुने होइन, आशाको भावना बोकेर अघि बढ्नुपर्छ।’
उनले गोरखाको विकासमा आफू प्रधानमन्त्री हुँदा र अहिले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले समेत निरन्तर ध्यान दिएको बताए।
उनले भने, ‘संघीयता कार्यान्वयन र स्थानीय तहलाई प्रभावकारी बनाउन म प्रधानमन्त्री हुँदा संघ, प्रदेश र स्थानीय तहबीच समन्वयका लागि पटक–पटक बैठक आयोजना गरेर संघीयताको कार्यान्वयनका लागि पहल गरेको थिएँ। त्यसका लागि धेरै काम अगाडि पनि बढाइएको थियो। तर केपी शर्मा ओली प्रधानमन्त्री भएपछि त्यो काम रोकिएको छ।’
संविधानमा उल्लेखित कतिपय अधिकार अझै कार्यान्वयनमा नआएकोप्रति उनले चिन्ता व्यक्त गरेका छन्। गाउँगाउँमा सिंहदरबार भन्ने अवधारणा आफूले नै ल्याएको तर त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको उनको कथन थियो । ।
