Comments Add Comment

मुलुकमा राजतन्त्र फर्किन्छ भन्ने भ्रममा नपरे हुन्छ

आजभोली चिया गफमा पनि राजतन्त्र ल्याउँछौ र यसको कुनै आवश्यक्ता छैन । यसै पक्ष र विपक्षमा निकै कुरा सुन्न पाइन्छ । यसलाई वहस र छलफल भन्न पनि सकिदैन । यसो किन भनिएको होला ? कसैलाई प्रश्न पनि गर्न मन लाग्छ होला ? तर यो प्रश्न गर्नुको पनि कुनै जरुरी छैन । किनभने नेपालमा राजसंस्था वा राजाको प्रत्यक्ष शासन भोग्ने यहींका नेपालीहरू हुन् ।

सक्रिय राजतन्त्रको शासन भोग्ने नेपालीहरू अहिले पनि तमाम जीवित हुनुहुन्छ । कुनै समयमा राजसंस्था वा राजालाई वा राजपरिवारलाई सम्मान गर्ने नेपालीहरूको संख्या निकै थियो । जसले घर घरमा राजा रानीको तस्विर राखेर सम्मान व्यक्त गरेका थिए । नेपालीहरू जसले आफ्नो पूर्वजको नाममा श्राद्ध तर्पण गर्ने गर्नुहुन्छ उहाँहरूले एक तर्पण राजाका नाममा दिने गर्नुहुन्थ्यो । अझ अगाडि बढेर भन्ने हो भने आफूले खानाखाने समयमा अग्न ए स्वाहाः भुवन पते स्वाहा, भुपने श्वाहा भनेर अग्रासन दिने गर्नु हुन्थ्यो । यसरी नेपाली नागरिकले राजासंस्थालाई सम्मान व्यक्त गर्नुहुन्थ्यो । आफ्ना पूर्वजहरूको पंक्तिमा राजा जो दिवंगत भए उनीहरूलाई राखेर पितृहरूलाई दिए जस्तै तर्पण दिने र आफूले भोजन गर्नु अघि भुपते (राजा), श्वाहा र भुवनपते(देवता) श्वाहा भनेर अग्रासन दिने गरेबाट पनि राजसंस्था प्रतिको ठूलो भक्ति दर्शाएका हुन भन्ने बुझ्न गाह्रो छैन । भुपते श्वाहा र तर्पणको सन्दर्भमा एकजना विद्वानसंग नेपालबाट राजसंस्था वा राजतन्त्र हटेपछि अव कसरलाई तर्पण दिनु हुन्छ ? र, कसलाई अग्रासन दिनु हुन्छ ? भन्ने प्रश्नमा उहाँले निकै सहज किसिमले उत्तर दिनुभयो ।

हामीले जतिवेला राजा जो दिवंगत भएका हुन्थे उनीहरूलाई तर्पण दिएकै हो र अग्रासन दिएको पनि सत्य हो । हामीले दिएको तर्पण नागरिक दवाउने र चपाउने राजालाई होइन नागरिक पालक राजाको लागि हो अनि त्यस्तै जनप्रिय राजाको लागि हामीले अग्रासन दिएको हो भन्ने जवाफ दिनुभयो ।

कुरा सरल छ । जसले हामीले दिएको तर्पणले हम्रा पितृहरूलाई प्यास मेटाउँछ र हामीेले दिएको पिण्डले हाम्रा पितृहरूको भोक भमेटाउँछ भन्ने विश्वासका साथमा यसो गर्नु भएको हो । तर उहाँहरूले नै सबै राजाको लागि होइन अर्थात जनता सताउने र चपाउनेहरूका निम्ति होइन जनता पालक राजाको लागि हो भन्ने विश्वास रहेछ । नेपालमा दुई ठाउँबाट राजा हटेको अवस्था हो पहिलो राजा बस्ने नारायणहिटी राजदरवार र दोस्रो नेपालको संविधानबाट । पहिलो राजाको सम्मान संविधानमा अत्यधिक थियो र दोस्रो नारायणहिटी राजदरवारमा थियो । अव राजाको सम्मान न संविधानमा छ न नारायणहिटी राजदरवारमा छ ।

संविधानमा लोकतान्त्रिक गणतन्त्र भनेर उल्लेख गरेको छ भने राजा बस्ने नारायणहिटी राजदरवारमा अहिले संग्रहालय बनेको छ । जहाँ तात्कालिन राजाहरू तथा राजपरिवारले प्रयोग गर्ने गरेका श्रीपेचदेखि भाँडा वर्तनसम्मका वस्तुहरू रहेका छन् । त्यहाँ रहेका हरेक कक्षमा विभिन्न समयका राजा तथा उनका परिवारले प्रयोग गरेका वस्तु देख्न पाइन्छ । अर्थात अब आएर राजदरवारमा पनि राजाको स्थान रहेन र संविधानमा पनि उचित स्थान रहेन । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि तत्कालिन राजा ज्ञानेन्द्र शाहले पत्रकार जमघट गराएर राजसंस्थाको विरासतमा रहेको श्रीपेच समेत नागरिकलाई बुझाएर आफै गाडी चलाएर नागार्जुनतर्फ लागेका हुन । उनलाई न कसैले गलहत्याएको हो नत उनी जाने समयमा कसैले आँशु झारेको हो । उनी पत्रकारहरूलाई साक्षी राखेर राज्यको नाममा वक्तव्य दिएर हिंडेका हुन् । उनी राजदरवार छोडेर जाँदा कतिजनाले आँशु चुहाएका थिए र ? आँशु चुहाउनेहरू को थिए ? यो प्रश्न पनि त आउँछ नि । जो राजसंस्था वा राजाको वरिपरि बसेर चुस्नसम्म रस चुसेका थिए र आम नागरिकप्रति उनीहरूको कुनै चासो पनि थिएन र जिम्मेवारी पनि थिएन हो आँशु चुहाएको भए उनीहरूबाट हुन सक्छ ।

त्योदेखि वाहेक अरू सर्वसाधारण नागरिकका न त आँखा रसाए न चित्त दुख्यो न मन कुँडियो । आम नागरिक त २०६२/०६३को जनआन्दानेलनमा राजसंस्था र तत्कालिन राजा ज्ञानेन्द्र र तत्कालिन युवराज पारसको विरुद्धमा नारालगाउने गर्दथे । अनि उनीहरूको जोडबलबाट नेपालबाट राजसंस्था सदाका लागि विदा भएर नारायणहिटीबाट नागार्जुनतर्फ लागेको हो । नेपालबाट तत्कालीन राजा ज्ञानेन्द्रले पत्रकार सम्मेलन गरेर सपरिवार दरवार छोडेर गएको पनि आज वर्षौ बितेको छ । अब त नागरिकले न त अग्रासन दिंदा भुपते श्वाहा भनेर संम्झन्छन् न त तर्पण दिंदा भुपते तिर्पनताम भनेर नै तर्पण दिन्छन् न संविधानले नै राजा तथा राजसंस्थालाई नै कुनै स्थान दिएको छ । अव राजा भन्ने शब्दका अगाडिबाट पूर्व भन्ने शब्द थपिएको छ त्यसैले पूर्वराजा जोडिएर आउँछ ।

नेपालमा अहिले एउटा हिस्सा जो हिंजो दरवारको रसमा डुवेको थियो । आफ्ना सबै स्वार्थ पुरा गराउँदै आएको थियो उही तत्व सल्वलाउन खोजेको जस्तो देखिन्छ । त्यही तत्वले कहिले राजा ल्याउने नाममा तिनकुनेमा र कहिले चारकुनेमा हर्कत देखाउने गर्दछ । अनि नागरिकबाट झन आलोचित हुँदै आएको छ । आज एउटा गतिलो प्रश्न उठेको छ । राजसंस्था ल्याउन उद्यत रहेको समयमा कतिको ज्यान लिए, कति तोडफोड गर,े कति आगजनी गरे ? भोली राजसंस्था आयोभने यिनीहरूको रवैयाकस्तो होला ? यही प्रश्न धेरैका मनमा उठेको छ । नेपालमा संविधान बदल्ने एउटा राम्रो विधि छ । त्यो हो संसदबाट दुई तिहाई मतले बदल्ने । यस्तो सजिलो विधि राजा ल्याउन चाहनेहरूले किन अपनाउने हिम्म्त गर्दैनन् र तोडफोड तथा आगजनि गर्ने अनि नागिरकलाई सास्ती दिने गर्दछन् । संविधान वदल्ने मत ल्याउन सके त संविधान वदलिन्छ अनि राजालाई सम्मानको गद्दीमा राखेर पूजा अर्चना गर्ने त्यसपछि पुनः आफू तरमार्नतिर लागे भइहाल्थ्यो । सडक तताएर अव हुने भनेको नागरिकलाई सास्ती सिवाय अरू केही होइन । राजा ल्याउने भीडमा पुगेका मानिसहरू हेर्दा टिठ लागेर आउँछ । कस्ता मानिसलाई लिएर सडक तताउँछै यो तत्वले ? नेतृत्वगर्नेहरू हिंजो पञ्चायती व्यवस्था हुँदा उच्च पदमा रहेका थिए र जसले सर्वसाधारणलाई मानिसको रूपमा र नागरिकको हैसियतमा देखेनन् । नागरिकभनेको देशले सम्मान गर्ने व्यक्ति हो ।

नेपालको संविधानले नागरिकलाई सार्वभौमसत्ता सम्पन्न भनेको छ । उनीहरूको हातमा राज्यसत्ता हुन्छ । उनीहरूले चाहेको व्यक्तिले राज्य सञ्चालन गर्ने हो । जन्मजातको रूपमा होइन । आजसम्म कतिजना जनप्रतिनिधि आए गए । जसले लोकप्रियता हासिल गर्न सकेनन् उनीहरू विदा भएर गए । जसले लोकलाई चित्त बुझाउन सके उनीहरू पुनः निर्वाचित भएर आएका छन् । उनीहरूबाटै सत्ता सञ्चालन भएको छ । आवधिक निर्वाचनको आधार भनेको यही हो । लोकसम्मत हुन सकेन भने जवरजस्तीले मत पाउन सकिदैन ।

हिंजो लोकप्रिय भनेर हुक्काँ गर्नेहरूले पनि त निर्वाचनामा हारेका छन् । यो हो लोकतन्त्रको एउटा विधि । कसैको चाकडीले टिकट पायो भने पनि नागरिकले पत्याएन भने कसैको आर्शिवादले पनि पुग्दैन । यस्तो लोकप्रिय व्यवस्था छोडेर यो समयमा पनि राजतन्त्रको आवश्यक्ता देख्नेहरूलाई भोलीका दिनमा सोंचेर वेग्लै उपनाम दिनु पर्ला । स्वार्थसिद्धिका लागि जे सुकै कुरा भनिए पनि आजको आवश्यक्ता भनेको राजा वा राजसंस्था कदापी होइन, हुनसक्दैन । कोही पनि राजतन्त्र फर्किन्छ भन्ने भ्रममा नपरे हुन्छ । सबैलाई चेतना भया !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ