मुक्तक
घृणा गर्नेलाई पनि प्रेम दिने मन छ, कमजोर नसम्झ
तिम्रा प्रहारमा मुस्कुराउने जीवन छ, कमजोर नसम्झ
जन्मघर त त्यागेर आएँ, तिम्रो खुशी अन्तै मिल्छ भने,
तिमीलाई पनि त्याग्न सक्छु वचन छ कमजोर नसम्झ।
मुक्तक
कसैले सजाउँछन् कसैले कुल्चिन्छन् फूलको थुङ्गा
कोही कोमल हुन्छन् कोही भेटिन्छन् कठोर ढुङ्गा
ए जिन्दगी मन सँग खेल्ने आइरहन्छन् स्थिर हुनु,
जस्तो कि कयौं भेल तार्ने यो जिन्दगी बनेको छ डुङ्गा।
मुक्तक
आफ्नो जन्मभूमि मैले टेकेको माटो मेरो पहिचान हो
त्यो उकाली र ओराली हिड्ने बाटो मेरो पहिचान हो
माटोमा खेल्दै हुर्केको हूँ मिठो लाग्छ धूलोको सुगन्ध
मैले लगाएको वस्त्रको माटोको टाटो मेरो पहिचान हो।
मुक्तक
तिमी अर्कैको हौ जान्दाजान्दै तिम्रो नजिक सरेर के काम
जिन्दगी भर तिमी मेरो हुन्छौं भन्दै मैले भर परेर के काम
तिमी तिम्रो बाटो लाग्न सक्छौ म यसै ठिक छु बझ्नु अब,
निष्ठुरीको लागि मैले सधैं मरिहत्ते मात्र गरेर के काम।।
मुक्तक
देखायौ तिमी भित्र भएको ओैकात केही भन्न सकिनँ
कहिले भन्यौ अछूत हो तेरो जात केही भन्न सकिनँ
समय, परिस्थिति कसैको एकनास हुँदैन बुझ्न सकेनौ,
समस्यामा साथ, अप्ठ्यारोमा दिएँ हात केही भन्न सकिनँ ।
मुक्तक
किन किन ? आजभोलि तिम्रो तस्बिर हेरौं लाग्छ
सुटुक्क प्रेमले अँगालोमा तिमीलाई नै बेरौं लाग्छ
जे भन्छौ सबै प्रिय लाग्छ तिम्रा हरेक शब्द अचेल
तिम्रा हरेक आग्रह भनेजति सबै मलाई टेरौं लाग्छ।
मुक्तककार रोङ ५, देवान्छाप इलाम निवासी हुन् ।
