पाँचथर — हिलिहाङ गाउँपालिका-५ नम्बर वडा कार्यालयले २०८१ सालको एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रालाई पुरस्कार वितरण गरेको छ । वडाभित्रका विद्यालयबाट सर्वोत्कृष्ट आंक ल्याउने विद्यार्थीलाई पुरस्कार स्वरूप ल्यापटप वितरण गरेको हो ।
निलगिरी माध्यमिक विद्यालयबाट एसइईमा ३.७५ जीपीए ल्याएर उत्तीर्ण भएकी वर्षा थुङ्गिम लिम्बूलाई ल्यापटप सहित पुरस्कृत गरिएको छ । वडाध्यक्ष बिर्खबहादुर सुहाङले गणतन्त्र दिवसको सन्दर्भमा वडा कार्यालयस्थित देवी योङहाङ स्मृति भवनमा आयोजना आयोजित कार्यक्रममा ल्यापटप वितरण गरिएको जानकारी दिए ।
लिम्बूलाई गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा उप्रेती सेढाई, वडाध्यक्ष बिर्खबहादुर सुहाङ लगायतका जनप्रतिनिधिले ल्यापटप हस्तान्तरण गरेका हुन् । हिलिहाङको ५ नम्बर वडाले यसै वर्षदेखि वडा भित्र सञ्चालित सामुदायिक विद्यालयबाट एसइई मा सहभागी भई सर्वोत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई प्रोत्साहन गर्ने नीति लिएको हो ।
कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको वडाध्यक्ष सुहाङले बताए । लिम्बूलाई ८० हजार रुपैयाँ मूल्य बराबरको ‘कोर आई फाइभ’ ल्यापटप प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
