Comments Add Comment

सशस्त्रमा ठाडा मगर एआइजी बढुवामा सिफारिस, कमल गिरी पछाडी !

काठमाडौँ । सशस्त्र प्रहरी बलको भावी नेतृत्वमा पुग्ने सम्भावना सहित डीआईजी गणेश ठाडा मगर अतिरिक्त महानिरीक्षक (एआईजी) मा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले रिक्त एक एआईजी पदका लागि ठाडा मगरलाई सिफारिस गरेको हो।

बरियतामा दोस्रो स्थानमा रहेका ठाडा मगरले पहिलो स्थानका कमल गिरीलाई पछि पार्दै एआईजी सिफारिसमा स्थान बनाएका हुन्। बढुवाको निर्णयलाई लिएर सत्तारूढ दलभित्रको मतभेदले प्रारम्भमा प्रक्रिया अवरुद्ध भएको थियो।

बिहीबार बिहान बसेको बैठकमा सहमति जुट्न नसकेपछि बेलुका पुनः बैठक बोलाइएको थियो। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखक ठाडा मगरको पक्षमा अडिग रहेका थिए। उता, प्रधानमन्त्री केपी शर्मा ओली भने पहिलो स्थानमा रहेका कमल गिरीलाई नै बढुवा गर्नुपर्ने पक्षमा थिए।

तर अन्ततः बेलुकीको छलफलपछि ठाडा मगरको नाममै सहमति जुट्दै एआईजीमा सिफारिस गरिएको हो।

अबको तीन वर्षपछि महानिरीक्षक (आईजीपी) को पदमा पुग्ने सम्भावना ठाडा मगरका लागि बलियो देखिएको छ। हाल सशस्त्र प्रहरीमा तीन एआईजीको दरबन्दी छ, जसमा सीमा सुरक्षा विभाग खाली छ। सोही विभागका एआईजी चन्द्रप्रकाश गौतम वैशाख २ गते अवकाश भएपछि पद रिक्त भएको हो।

अहिले कार्यरत दुई एआईजी नारायणदत्त पौडेल र वंशीराज दाहालमध्ये एक जनाले २०८३ वैशाखमा राजु अर्यालको अवकाशपछि आईजीपीको जिम्मेवारी सम्हाल्नेछन्। तीमध्ये जुनसुकै बनून्, उनीहरूले २२ महिना मात्र कार्यकाल पाउनेछन्। त्यसपछि ठाडा मगरको आईजीपी हुने सम्भावना उच्च हुने अनुमान गरिएको छ।

डीआईजी ठाडा मगर, कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी एउटै ब्याचका अधिकारी हुन्। उनीहरू प्रारम्भमा नेपाल प्रहरीमा भर्ना भई पछि सशस्त्र प्रहरी बलमा सरेका थिए।

पदावधि अनुसार अब एआईजी नबने बाँकी तीन डीआईजी आगामी पुस २३ गते अनिवार्य अवकाशमा जानेछन्। गत पुसमा सकिएको पदावधि सरकारले एक वर्ष थप गरेको थियो, जुन यो पुसमा सकिनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ